प्रभातराज पाण्डे,
भनिन्छ– निरन्तर रुपमा ध्यान गर्ने, नित्य रुपमा दृढ भएर परिक्रमा गर्ने मेहनती व्यक्तिले विपश्यनाद्धारा निर्वाण प्राप्त गर्दछ । यसै सिलसिलामा २०८० साल भदौ १३ गते देखि २४ गते तदनुसार (30 August 2023 -10 September 2023) सम्म गोदावरी नगरपालिका स्थित कोटडाँडा विपश्यना ध्यान केन्द्र, गोदावरी–२ “धम्मगार” मा सञ्चालित १० दिवसिय ध्यान शिविरमा बसेर ध्यान गर्ने सौभाग्य मलाई प्राप्त भयो । हुनत यो मेरो दोस्रो ध्यान शिविर हो । पहिलो १० दिने ध्यान मैले बुढानिलकण्ठ, मुहानपोखरी स्थित “धम्मस्रीङग” मा बसेर सफतापूर्वक सम्पन्न गरेको अनुभव मेरो मानसपटलमा ताजै छ ।
यस पटकको ध्यानको अनुभव भने अलि बेग्लै छ । पहिलो शान्त वातावरणमा अवस्थित कोटडाँडाको हरियाली मनोरम दृश्यले गर्दा ध्यानका लागि उपयुक्त ठाउँ भएको महसुस मैले गरेको छु । दोस्रो ध्यान सिकाउने पुरुष तर्फका स.आचार्य सानुराजा रन्जित र महिला तर्फकी ब.स.आचार्या अञ्जली गुरुङ दुवै ज्यादै मिलनसार, हसमुख, साधा जिवन उच्च विचारका धनि गुरुका रुपमा मैले पाँए । हामी साधक, साधिकाहरुले सोधेका हरेक प्रश्नहरुको सरल तरिकाले बुझ्ने किसिमले कुनै रिस, राग, आपत्ति बेगर सहि सल्लाह दुवै आचार्य गुरुहरुबाट प्राप्त भएकाले मेरो ध्यान पूूर्ण रुपमा सफल भएको छ । यसपटकको ध्यान शिविरमा सेवकका रुपमा रहनु भएका श्री लोकराज शर्मा, चिरन्जिवि अर्याल, रवि रिमाल र महिला तर्फकी सेविका रञ्जु तामाङको भुमिका पनि प्रशंसा गर्न लायकको नै थियो । त्यस्तै बसको प्रवन्ध मिलाउने सुजन बज्राचार्य र नरेश श्रेष्ठलाई पनि उहाँहरुको सेवाका लागि धन्यवाद दिन चाहन्छु ।
यसपटकको विपश्यनाबाट मैले पाएको अनुभव सविस्तार यहाँ वर्णन गर्न चाहन्छु ।
श्रद्धा भनौँ या विश्वास भनौँ अथवा भक्ति भनौँ धर्म मार्गमा अघि बढ्ने ब्यक्तिको लागि यो अत्यन्त नै आवश्यक छ । तर भक्तिसँग सँगै ज्ञान हुनु आवश्यक छ । त्यस्तै भक्ति र ज्ञान सँगै कर्म हुनु आवश्यक छ । भक्ति, ज्ञान र कर्म यी तीनवटाको उचित समन्वय भएमा नै धर्मको सर्वाङ्ग सम्पूर्णता हुन्छ । भक्ति छैन भने धर्म लंगडा हुन्छ र हिँड्न सक्दैन । ज्ञान छैन भने धर्म अन्धो हुन्छ र देख्न पाउँदैन । यदि कर्म छैन भने धर्म लूलो हुन्छ र काम गर्न सक्दैन । यी तीन वटाको सामन्जस्य भएमा नै धर्म परिपूण हुन्छ । भक्ति ज्यादै आवश्यक छ, तर समझदारी पनि हुनुपर्छ । अन्ध भक्ति हुनुहुदैन, अन्ध विश्वास हुनुहुँदैन, अन्ध श्रद्धा हुनुहुदैन । यदि कसैको प्रति श्रद्धा जागेको छ, भक्ति जागेको छ भने राम्ररी बुझेर उनको गुणलाई सम्झन र त्यसबाट प्रेरणा पाएर त्यस्तै गुण आफ्नो जीवनमा ल्याउने काम शुरु गर्न पर्छ तब मात्रै भक्ति कल्याणकारि हुन्छ । अन्यथा यो भक्ति अन्ध भक्ति हुनजान्छ र खुट्टामा नेल लगाएको झै धर्म मार्गमा एक पाइला पनि अगाडि बढ्न सक्दैन । अन्धोपनामा नै जीन्दगी वित्दछ । त्यसैले ज्ञान साथमा हुनु अति आवश्यक छ ।
चित्त निर्मल गर्ने कुनै काम नै गरेको छैन, अपेक्षाहरुबाट मुक्त हुने कुनै काम नै गरेको छैन । क्षणमा राग जगाउँछ, द्धेष जगाउँछ तर आफूलाई कृष्णको भक्त मान्दछ, यस्तो हो भने भक्ति कल्याणकारि भएन । भक्ति ज्ञानले भरेको छ र कर्ममा उतरेको छ, आचरणमा व्यवहारमा उतारेको छ भने धर्मको मार्गमा अगाडि बढ्दै गएको छ, शुद्ध धर्मको मार्गमा अगाडि बढेको छ । शुद्ध धर्मको मार्गमा अघि बढ्यो भने सबैको मंगल नै हुन्छ । कल्याण नै हुन्छ । स्वस्ति नै हुन्छ ।
मेरो अनुभवमा कसैलाई शिव प्रति भक्ति छ भने धेरै मंगल हुने छ । शिव शब्दको अर्थ नै मंगल हो, अर्थात मंगल नै मंगल । शिवको चित्र अथवा मुर्ति देख्नु भएकै होला, कस्तो ध्यानमा मग्न हुनुहुन्छ शिव । मुहार कति शान्त देखिन्छ । टाउकोमा सर्प घुमिरहेको छ, घाटिमा सर्प, हातमा सर्प, कम्मरमा सर्प वरिपरि काल नै काल छाएको छ, तर कुनै चिन्ता छैन । निर्भयपूर्वक बस्नु भएको छ शिव, किनकि उहाँको कोहि शत्रु छैन । शत्रु नभएपछि जो कोहि पनि निर्भय नै हुन्छ ।
मलाई शिविरमा बस्दा सातौँ दिन देखि टाउको बाट पैताला सम्म धर्मको गंगा बहन थालेको अनुभव भएको थियो । यसले मलाई शान्ति र निर्मलता प्राप्त भई विकारबाट छुटकारा पाएको महसुस भएको थियो । विपश्यीले विपश्यना गर्दछ र विकारलाई जरा सम्म उखेलेर फ्याकी दिन्छ । काम वासना जागेको छ भने त्यसलाई दवाएर राख्दैन कि बरु त्यसलाई भष्म गरि दिन्छ ।
(लेखकः विशाल नेपाल महाअभियानका केन्द्रिय सदस्य हुनुहुन्छ)
0 comment