काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको राजधानीबारे छिट्टै टुंगो लाग्ने बताएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले राजधानीका विषयमा छलफल अगाडि बढिसकेको र कैलालीको गोदावरीमा सम्भव नभए राजधानीका लागि विकल्प खोजिने बताए। 

उनले भने, ‘गोदावरीमा राजधानी बनाउने भन्ने दुई तिहाईको निर्णय हो। विभिन्न कारणले वन मन्त्रालयलगायतले अनुमति दिन नसकिरहेको अवस्था छ । सरोकारवाला मन्त्रालयबाट अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा हामी जान्छौं। त्यो सम्भव भएन भने विकल्प खोज्नेछौं ।’ प्रदेशको नाम परिवर्तनको विषयमा पटकपटक चर्चा हुने गरेको भएपनि तत्काल त्यसको तयारी भने नभएको उनको भनाइ छ। 

मुख्यमन्त्री शाहले कृषि, पर्यटन र उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम सरकारले काम गरिरहेको बताए । उनले भने, ‘सुदूरपश्चिम सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सन्देश दिने गरी काम गरिरहेको छ।’ 

सुदूरपश्चिममा भएका सम्भावनालाई उजागर गर्न निजी क्षेत्रलाई पनि आह्वान गरिसकेको बताउँदै उनले सुदूरपश्चिमको विकासका लागि सरकार सहकार्य गर्न तयार रहेको बताए । कृषि क्षेत्रलाई प्राथमिकतामा राखि अनुदान दिने, विना व्याजमा लगानी गर्ने, ढुवानीमा सहयोग गर्ने जस्ता कार्य अगाडि सारिएको उनले बताए।