काठमाडौं - एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले छिमेकी देशसँग गर्ने पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याउन सरकारसँग माग गरेका छन्।
काठमाडौंमा पार्टी निकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले नेपालले कति बिजुली उत्पादन गर्न सक्छ भन्नेमा सरकारले कुनै अनुसन्धान नगरी अहिले उत्पादन भइरहेको बिजुली २५ वर्षका निम्ति भारतलाई बेच्न लागेको भन्दै त्यसरी बिजुली बेच्न गरिने सम्झौता जनतामाझ सार्वजनिक गर्नुपर्ने बताए। उनले त्यस्ता डकुमेन्ट जनता र संसदबाट अनुमोदन गराएर मात्रै काम अघि बढाउन माग गरे।
उनले नेपालमा उत्पादन हुने बिजुली किन्न चीन तयार रहे पनि त्यसबारे सरकारले कुनै चासो नदिएको जिकिर गरे। बिजुली प्राकृतिक स्रोतसाधन भएको भन्दै उनले प्राकृतिक साधन स्रोतका बारेमा कुनै पनि देशसँग सम्झौता गर्दा नेपालको संविधानको धारा १२६ मा दुई तिहाइबाट अनुमोदन गर्नुपर्ने भन्ने रहेपनि यसबारेमा कुनै पनि सम्झौताका डकुमेन्ट जनतासामु नआएको उल्लेख गरे र उनले नेपालमा उत्पादन हुने बिजुली खपत हुन नसकेपछि कुनै न कुनै देशमा बेच्नु स्वाभाविक हुने भए पनि कस्तो बजार निर्माण गरेर बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने तर्क गरे ।
त्यस्तै नेता खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने भन्दै अब आउने चुनावमा पार्टीले कार्यक्रम र योजनाका साथ देशव्यापी भाग लिने बताए। उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे । नेता खनालले पुँजीवादको एक मात्र विकल्प समाजवाद भएको भन्दै समाजवादी विकल्प खडा गर्ने पार्टी एकीकृत समाजवादी हुने दाबी गरे।
0 comment