काठमाडौं - सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेको भन्दै आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सुन काण्डमा गठन हुने उच्चस्तरीय आयोगले प्रतिवेदन संसद्मै पेस गर्ने व्यवस्था गर्न माग गरे ।

उनले भने, 'भ्रष्टाचारका फाइलहरू खुलेका छन्। तर कुनै पनि टुंगोमा नपुग्ने र बीचमै तुहिने परिस्थिति देखा परेको छ। पाँच महिना सात महिना नपुग्दै प्रहरी अफिसरहरू परिवर्तन भएका छन्। त्यो परिवर्तन केका लागि किन? कम्तीमा एक वर्ष न्यूनतम सामान्य प्रक्रिया हो। यसले भ्रष्टाचारको गतिविधिहरूलाई नियन्त्रण हुन्छ भन्ने कुरालाई विश्वास हराएको छ।'

भ्रष्टाचारको जरैदेखि अनुसन्धान हुनुपर्ने बताए।

सरकारलाई प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएमा यसअघिका आयोगकै हालत हुने भएकाले संसद्मा पेस गरी छलफल र सार्वजनिक गर्ने व्यवस्था गर्न सांसद केसीले माग गरे। साम्प्रदायिक दङ्गा मच्चाउन खोज्नेका विरुद्ध सरकारको मौनताका कारण बुझ्न नसकिएको उल्लेख गर्दै नेता केसीले दूरसञ्चारका ग्राहक बढ्ने तर राजस्व घट्ने कारणको खोजी गर्नुपर्नेमा जोड दिए । 

नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक बढ्दा राजस्व घटेकाले सरकार र सञ्चार मन्त्रालयले यसको छानबिन गर्नुपर्नेमा जोड दिए। पासाल्हामु राजमार्गको काठमाडौंबाट नुवाकोटको पीपलटार खण्डको बजेट कटौती गरिएकोप्रति उनले आपत्ति जनाए।