काठमाडौं – विभिन्न मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ त्यस्ता बस्तुहरूलाई लागु पदार्थ भनिन्छ । जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा परिवर्तन हुन्छ । यसलाई नशा पनि भन्ने गरिन्छ । लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार, समाज, राजनीति, राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ । यो मादक पदार्थ (रक्सी) भन्दा दशौँ गुणा हानिकारक हुन्छ ।
नेपालमा लागूऔषधको अवस्था
हामीले देखेका छौ, टोलछिमेकमा खुलारूपमा रक्सी बिक्री बितरण गरेका कारण टोल छिमेकका आमा–समूह समेतको विरोध भएको छ । तर लागु औषधको यो बिगबिगी उनीहरूको नियन्त्रण भन्दा टाढा देखिन्छ । नेपाली समाजका आमा समूह, टोल सुधार समिति, मानव अधिकारकर्मी, समाज सुधारकहरूले यसलाई गम्भिररूपमा लिनुपर्दछ अन्यथा हाम्रा आगामी पुस्ता पनि कुलतमा नफस्लान् भन्न सकिदैन । कतिपय परिवार, टोल सुधारकहरु तथा आमा समूहहरु लागु औषध बिक्री बितरण गर्ने, ओसारपसार गर्ने कार्यमा निरूत्साहित गर्नलाई सहयोग गर्ने प्रशासक र अड्डा/अदालत चिन्दैनन् जसको कारण उनीहरू आफनो व्यथा आफैमा सिमित राखेको पाइन्छ । उनीहरू आन्तरिक रूपमा हारगुहार त गर्छन् तर केही उपाय नलागेपछि पुग्छन् पुनस्थापना केन्द्र, अहिले नेपालका विभिन्न ठाउँमा पुनस्थापना केन्द्र स्थापना गरी उपचार गरिएको छ तर यो दीर्घकालीन समाधान चाँहि हुदै होइन । उद्योग कलकारखाना खोलेर युवाहरूलाई रोजगार दिनुपर्ने अवस्थामा पुनस्थापना केन्द्र खोल्नु परेको यो बाध्यता समाजको निकै कष्टदायक पीडा हो ।
वर्तमान समयमा लागू औषधले विश्वमा निम्त्याएको चुनौतिहरु
– लागू औषधको कारोवारमा दिनप्रतिदिन आएको बिस्तार र विविधि करणले विश्वलाई आज अशान्तिले ग्रन्त बनाएको छ ।
– लागू औषध र मनोद्विपक पदार्थहरुले व्यापक दुरुपयोग अबैध खेतीपाती, उत्पादन र निर्माणमा बृद्धि हुदै जाँदा वर्तमान विश्वमा अबैध धन्दा गर्नेहरुको संगठन बलियो हुदै गएको छ ।
– लागू औषधको कारोबारसँग विविध स्वरुपका संगठित अपराधहरु जोडिएका छन् । मनव बेचबिखन वा मानव तस्कर, हातहतियारको अबैध ओसार प्रसार, साइवर अपराध, अबैध मुद्रा शुद्धिकरण तथा अबैध मुद्धा निर्मलीकरणमा अतांकबादको सहारा लिने हुंदा विश्वको लागी लागू औषध ठूलो चुनौती बनेको छ ।
– लागू औषध दुव्र्यसनीको स्वास्थ्य उपचार समयमै उचित तरिकाले गर्न नसक्दा दुव्र्यसनी व्यक्तिहरुको मृत्युदरमा बुद्धि हुदै गएको छ ।
– लागू औषध दुव्र्यसनीले सुचना तथा संचार प्रविधिको गलत प्रयोग गरी समाजमा अपराधिक घटना गराउन उत्प्रेरित गर्ने हुँदा लागू औषधले विश्व सामु नयाँ चुनौती थपी दिएको छ ।
– युद्ध, लडाई, बिद्रोह, क्रान्ति, आन्दोलन, जुलुस एवं आत्मघाती बम बिस्फोटनमा समेत प्रायः जसो यिनै दुव्र्यसनी व्यक्तिहरुलाई उत्तेजित बनाएर विभिन्न संघ, संगठनहरुले आफ्नो बिरोधी पक्ष वा दुस्मनका बिरुद्ध लड्न प्रयोग गर्ने गरेको पाईन्छ । जसले गर्दा शान्ति सुरक्षा कायम गर्ने बिषयमा विश्वको लागू औषध ठूलो चुनौती बनेर प्रस्तुत भएको छ ।
– चिकित्सा र बैज्ञानिक क्षेत्रमा लागू औषधको सहि प्रयोजन वा सदुपयोग हुन नसक्नुको कारण नै लागू औषधको दुरुपयोगमा बृद्धि हुनु हो । फलस्वरुप आज विश्वमा शान्ति, सुरक्षा, आर्थिक नोक्सानी र मानव स्वास्थ्यमा गम्भिर असर पुर्याएको छ ।


0 comment