काठमाडौं – कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सरेको छ। आज बिहान साढे १० बजे शपथग्रहण गर्ने  कार्यक्रम राखिएको थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । गठबन्धनमा भागबन्डा मिलाउनका लागि थापाले साझ ५ बजेसम्मका लागि शपथग्रहण सार्नु परेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार  थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोसीका नेता थापा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्रीमा थापा नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयले आज विहान १० बजे शपथग्रहणको कार्यतालिका बनाएको थियो । गठबन्धन दलहरुबाट एक-एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । ‘अस्ति विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो, अहिले मन्त्रालय तोकेरै जाउ भन्ने तयारी छ,’ प्रमुख सचेतक राईले भने ।