काठमाडौं - छानविन समितिले कोभिड १९ संक्रमणविरुद्धको खोपमा अनियमितता नभएको निष्कर्ष निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२औं तहका विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित समितिले खोपमा अनियमितता नभएको निष्कर्ष निकालेको हो ।
समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा पैसा लिई खोप लगाइएको, धेरै मौज्दात राख्ने र उचित भण्डारको अभावले प्रयोग नमिल्ने खोप धेरै भएका, अभियान सञ्चालन गर्ने सम्बन्धमा लापरवाही गर्ने निकायको सम्बन्धमा सत्यतथ्य छानविन गरी कारवाही सिफारिस गर्न अधिकारसम्पन्न समिति गठन गरी जिम्मेवारी दिने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र र स्वास्थ्य कार्यालयहरुले खोप प्राप्ति र निकासीको अनिवार्य अभिलेख राख्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।
यस्तै सबै खोप भण्डारमा रेफ्रिरेजेटरको अगाडिको भागमा खोपको नाम, मौज्दात, म्याद गुज्रिने मितिसहितको विवरण स्पष्ट देखिने गरी राख्नुपर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
कोभिड १९ विरुद्धको खोप कार्यक्रममा तीन तहको सरकारबीच प्रभावकारी समन्वयको अभाव रहेको प्रतिवेदनले औल्याएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले संसदीय समितिमा २४ लाख मात्रा खोपको रेकर्ड नभेटिएको जानकारी गराएका थिए । स्वास्थ्यकै सचिवले खोप हराएको तथ्य बाहिर ल्याएपछि चौतर्फी आलोचना भएको थियो । एमालेको भ्रातृ संगठन युवा संघले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो ।
चौतर्फी प्रश्नको घेरामा परेका मन्त्री खतिवडाले खोप हराएकोबारे वास्तविकता बाहिर ल्याउन छानविन समिति गठन गरेका थिए ।
0 comment