काठमाडौं - सरकारी कागजात किर्ते गरेको आरोपमा थुनामा परेका गोरखा–२ का प्रदेश (क) का कांग्रेस सभापति दिर्घमान गुरुङ पार्टीबाट निष्कासित भएका छन् ।

नेपाली कांग्रेसको गोरखा जिल्ला कार्यसमितिका सचिव कृष्णबहादुर आलेले बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी उनलाई पार्टीको सदस्य पदबाट निष्कासन गरेको जनाएका छन् । गोरखाको क्षेत्र नम्बर २ को (क) प्रदेशका सभापति नारायण भनिने दीर्घमान गुरुङ सरकारी कागजात किर्ते गरेको अभियागमा काठमाडौंको डिल्लीबजार कारागार चलान भएका छन् ।

आलेद्धारा प्रकाशित विज्ञप्तीमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–२ को दफा (४) को उपदफा १३ को (ङ) अनुसार उनलाई पार्टीको सदस्य पदबाट निष्कासन गरिएको जनाइएको छ । गुरुङलाई काठमाडौंको सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको थियो । साविकको आँपपिपल गाउँ विकास समिति वडा नम्बर २ (हाल पालुङटार नगरपालिका ३ ) निवासी गुरुङलाई अदालतमा पेश गराई कारबाहीको लागि कारागार पठाइएको हो । २०६१ जेष्ठ १८ गते अदालतले गुरुङलाई एक वर्षका लागि कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका गुरुङ काठमाडौं महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कमा रहेको गोरखा लिगलिग होटल, पोखराको होटल गोवा र पालुङटारको लिगलिग रिसोर्टका सञ्चालकसमेत हुन् । नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले गुरुङलाई पार्टीको सदस्यबाट हटाइएको बताए । ‘पार्टीको विधानमा भएको व्यवस्था अनुसार उहाँलाई पार्टीको सदस्य पदबाट निष्कासन गरिएको हो’ सभापति न्यौपानेले भने ।