काठमाडौं - नेपाली कांग्रेसका सांसद सुनिल शर्माले १०० किलो सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर घटना ढिसमिस गर्न खोजियो भने सदनमै आमरण अनुशन बस्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, 'चैत्र १७ गते अर्थमन्त्रीले शपथ खानु भयो। वैशाख २० गते अर्थसचिव परिवर्तन भयो। जेठको १७ गते भन्सार कार्यालय प्रमुख परिवर्तन गरियो। त्यसपछि क्वीन्टलका क्वीन्टल सुन भित्रियो। अर्थमन्त्री र गृहमन्त्रीले ती चिजहरू थाहा छैन भन्नुहुन्छ भने उहाँहरूले नैतिक अधिकार गुमाइसक्नु भएको छ।' सांसद शर्माले यो घटना सु्नियोजित ढंगले आएको दावी गरे।
उनले पटक पटक क्वीन्टलका क्वीन्टल सुन भित्रिदा अर्थमन्त्री र गृहमन्त्री मूकदर्श भएर बस्नु लाजमर्दो विषय भएको बताए। उनले सुन प्रकरणमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए।
त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणमा मन्त्रीहरूकै संलग्नता देखिएको भन्दै उच्च स्तरीय छानबिन समितिको माग गरेको हो।
एमालेका प्रमुख सचेत पदम गिरीले पछिल्लो एक वर्षदेखि सुन तस्करीकै लागि विमानस्थलको सुरक्षा व्यवस्था कमजोर बनाइएको आरोप लगाए। उनले तीन महिना अघि सञ्चालन गरिएको रेडी ट्रेड कम्पनीले हालसम्म २० क्विन्टल सुन नेपाल भित्र्याएको भन्दै छानबिन समितिको माग गरेका हुन्।
उनले पछिल्लो पटक भएको सुन तस्करीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत सूचना रहेको दाबी गरे। 'राजस्व अनुसन्धानको डिजीलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्रीलाई सूचना थियो कि थिएन? गृह प्रशासनलाई सूचना थियो कि थिएन। पक्कै थियो। कर्मचारीको सेटिङले मात्र क्विन्टलका क्विन्टल सुन यसरी तस्करी भएको छैन,' उनले भने, 'हामीले हेरेका छौं। रेडी ट्रेड कम्पनी दर्ता भएको तीन महिनामै ३३ पटकसम्म क्विन्टलका क्विन्टल सुन भित्र्याइएको छ। यसमा अर्थमन्त्रीले पनि संरक्षण गर्नुभएको छ।
पछिल्लो दुई तीन महिना २० क्विन्टल सुन तस्करी भएको छ। यसमा मन्त्रीहरूकै संलग्नता छ। यो प्रकरण छनबिनका लागि संसदबाट उच्च स्तरीय समिति गठन गर्नुपर्यो। सभामुखबाट रुलिङ हुनुपर्यो। संसदीय छानबिन समिति बनेन भने हामीले संसदलाई अगाडि बढाउन दिँदैनौं,' उनले भने।
उनले सुन तस्करी प्रकरणमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका कृष्णबहादुर महराको संलग्नता रहेको दाबी गरे।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तस्करीका घटनामा सरकारले कर्मचारीलाई सरुवा गरेर कारबाही गर्छ कि पुरस्कार दिन्छ भन्दै प्रश्न गरे।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आम नेपाली जनताले सुन तस्करीबारे बानी पारिसकेको व्यंग्य गर्दै त्यस्ता कर्मचारीलाई तत्काल बर्खास्त गरी थुन्न माग गरे।
उनले क्विन्टलका क्विन्टल सुन तस्करी हुनु सामान्य भइसकेको बताएका छन्। 'क्विन्टलका क्विन्टल सुन आउनुमा नेपाली जनताले अचम्म मानेका छैनन्। नेपालीले थाहा पाइसके। बानी पारिसके। यस्ता घटना आउँछ। तर सरकारले कर्मचारीको सुरुवा गर्छ। सरुवा कारबाही गरिएको हो कि पुरस्कार गरेको हो? बर्खास्त गर्नुपर्ने होइन र? थुन्नुपर्ने होइन र?,' लामिछानेले प्रश्न गरे।
उनले कर्मचारीलाई सरुवा गर्दा अनुसन्धान प्रभावित गर्ने समय मिल्ने बताए। उनले ट्याक्सीबाट बरामद गरिएको सुन मालिकसम्म किन पुर्याइएन भन्दै प्रश्नसमेत गरे। 'सरकारलाई सूचना आएको थियो ठीक छ। भरियामात्र समाउनु थियो र ट्याक्सी समातियो। मालिकसम्म पुगेपछि मालिकलाई पनि समातिन्थ्यो होला नि। तर किन गरिएन?,' उनले प्रश्न गरे।
'यस प्रकरणमा गृहमन्त्री र सम्बन्धित निकायले जवाफ दिनुपर्छ। सरकारले हरेक कुराको सुरुवात त गरेको छ। तर बीचमै कहीँ लगेर गिजोलेको छ। हाँगाबिगा काटेर सरकारले अनुसन्धानमा आलटाल गरेको छ,' उनले भने।


0 comment