काठमाडौं - भारतले हिन्दी भाषालाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई दश लाख अमेरिकी डलर हस्तान्तरण गरे। भारतीय राजदूतले यो सहयोगबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषाको संलग्नता बढाउने विश्वास व्यक्त गर्दै भारत सरकारले हिन्दी भाषाको प्रवर्द्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

संयुक्त राष्ट्रसङ्घका गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादन, हिन्दीभाषी सर्वसाधारणसमक्ष फेसबुक, इन्स्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न तथा हिन्दी भाषा बोल्नेहरूको आवाजलाई विश्वव्यापीस्तरमा पुर्‍याउन सहायता रकम उपयोग हुने बताइएको छ । 

विश्वव्यापी रूपमा सबैभन्दा धेरै बोलिने भाषामध्ये हिन्दी पनि एक हो । राष्ट्रसङ्घको ‘मल्टिमिडिया प्लेटफर्म’ बाट हिन्दी भाषामा समाचार, विचार, विश्लेषणलगायत सामग्री प्रकाशन एवम् प्रसारण भएपछि हिन्दी भाषीहरूलाई अन्तरराष्ट्रिय विषयमा बुझ्न र त्यसबारेका बहसहरूमा अझ सक्रिय रूपमा भाग लिन तथा अन्तरराष्ट्रिय समुदायमा थप समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग पुग्ने भारतको विश्वास छ ।