नेकपा एमालेले अधिबेशनको लागी मिति तोकिसकेको छ । असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय भएको पार्टी संगठन विभाग काशिनाथ अधिकारीले बताउनु भएको छ । 

सुदूरपश्चिमले भदौको २२ र २३ गते र कर्णाली प्रदेशले भदौको २९ र ३० गते गर्ने गरी मिति टुंगो लागेको छ । मधेश प्रदेशले असोजको ५ र ६ गते अधिवेशनको तयारी गरेको छ भने वाग्मती प्रदेशले ८ र ९ गते  र कोशी प्रदेश कमिटीले असोज १२ र १३ गते अधिवेशन गर्ने गरी मिति टुंगो लागेको अधिकारीले जानकारी दिए।

लुम्बिनीमा भने भदौ १६ र १७ गते नै अधिवेशन गर्ने मिति तय भएको प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन्।

‘राधाकृष्ण कँडेलको नेतृत्वमा मूल कमिटी र अरू उपसमिति बनाएर अधिवेशनको तयारी भइरहेको छ। यसैबीच हामीले साउन १३ र १४ गते नेपालगञ्जमा जनप्रतिनिधिहरूको प्रशिक्षण राखेका छौं,’ उनले भनिन्।

गण्डकीको प्रदेश अधिवेशनको मिति तय हुन बाँकी रहेको त्यस प्रदेशका इन्चार्ज गोकर्ण विष्टले जानकारी दिए।