काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी हुन नसक्ने दाबी गरेका छन्।
पूर्व उपप्रधान एवम् गृहमन्त्री समेत रहेका लामिछानेले शनिबार बिहान विराटनगरमा पत्रकारसँग कुरा गर्दै भने,‘बिना सेटिङ सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धानको विषय होला। लामो समयदेखि सुन तस्करीहरु जालो ठूलो छ भनिरहेका छन्। आम सर्वसाधारणको एउटा मोबाइल पनि नछिर्ने ठाउँमा यो तस्करी बिना सेटिङ सम्भव छैन।’
विमानस्थलबाट भन्सार पास भएपछि सुन समातिएकाले राष्ट्रिय युवा संघ र कांग्रेस सांसदले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करलाई साथ दिएको आरोपमा राजीनामा मागेको सन्दर्भमा लामिछानेले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको स्पष्ट पारे।
लामिछानेले वास्तविकता थाहा पाएसकेपछि मात्रै सडक र सदनमा कुरा गर्ने बताए। ‘भर्खरै यो विषय आएको छ। हेर्दैछौं। केहि समय पर्खनुपर्छ, हेर्नुपर्छ, केही समय धैर्य गर्नुपर्छ। सरकारलाई अनुसन्धान गर्न समय दिनुपर्छ। प्रतिक्रियाको दौडमा रास्वपा छैन। रास्वपाले कहाँ गल्ति गर्छ भनेर हेर्ने कि के विषय उठाएको छ भनेर प्राथमिकता दिने ?’
उनले सरकारले जुनसुकै अपराध गरेर राजनीतिमा आएपनि छुट दिने प्रावधान ल्याएकाले आफूहरुले संसदमा विरोध गरेको स्पष्ट पारे।
0 comment