काठमाडौं – प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले यस विषयमा आपत्ति जनाएको हो । 

सोमबार साँझ पुस्तक विमोचन समारोहमा बोल्ने क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए । यतीमात्र होईन, प्रचण्डले प्रीतम सिंहको बारेमा खुलेरै यस्तो अभिव्यक्ति दिएका थिए । “उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो, धेरैचोटी दिल्ली जानु पनि भयो । म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट उहाँलाई चिन्छु । हुन त हाम्रो कमरेड पम्फा भुसालको घर र उहाँको घर नजिकै भएका हुनाले पनि लगातार अन्तर्क्रिरया र सहकार्य उहाँसंग हुने ग¥यो । साथै हामीले नजिकबाट एक अर्कालाई नजिकबाट चिन्ने, र बुझ्ने महसुस ग¥यौं ।” 

यही अभिव्यक्तिलाई लिएर, नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध गर्ने तयारी समेत गरेको छ । संसद्ले बनाएको प्रधानमन्त्रीले यो देशमा प्रधानमन्त्री बन्न उहाँले दिल्लीले हाबी हुन्छ भन्ने भाष्य स्थापना गर्नुभयो, यो विषयमा हामी संसदमा यो कुरा उठाउँछौं । यो सामान्य विषय होइन, हामी बेखबर भएर बस्न नसक्ने सचेतक महेश बर्तौलाले बताएका छन् ।

यस्तैगरी प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि खुब चर्को आलोचना भइरहेको छ ।