काठमाडौं - प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा घर भई काठमाडौंको कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, सोही ठाउँका विवेक चौधरी, काठमाडौंको ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका घर भई काठमाडौंको ठमेल बस्ने आशा गुरुङ रहेका छन् । 

पक्राउ परेकाहरुले विभिन्न अनलाइन क्यासिनो गेमहरुमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हार जित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टेबाजी खेल खेलाउने गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

राजा चौधरीलगायतका व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौं महानगरपालिका–१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई गए राति पक्राउ गरी आज थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनु भयो ।

उनीहरुले मोबाइलमा विभिन्न जुवा खेलाउने अनलाइन प्लेटफर्मको प्रयोग गरी सट्टेबाजी खेल खेलाउने गरेको खुलेको हो । उनीहरुले आर्थिक लाभका लागि कुराकानी गरेको अनलाइन विवरणसमेत फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।