काठमाडौं - पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई ‘दूध जोन’ का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाइएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा जोन कार्यक्रम सञ्चालन गरिएको हो ।

पशु सेवा कार्यालयका सूचना अधिकारी सविना मिश्रका अनुसार खैरहनीका १० वडा र राप्तीका आठ वडालाई समावेश गरेर दूध जोन कार्यक्रम लागू गरिएको हो । 

दैनिक १० लिटर वा सोभन्दा माथि दूध उत्पादन गर्ने निजी फार्म तथा साझेदार संस्थाले अनिर्वाय रुपमा पशु बीमा गरेको हुनुपर्ने गरी कार्यक्रम लागू गरिएको हो । जोन कार्यक्रम लागू हुनका लागि दैनिक ३० हजार लिटर दूध उत्पादन हुने क्षेत्र हुनुपर्ने हुन्छ ।

कार्यक्रम लागू भएका वडाबाट हाल ४६ हजार एक सय तीन लिटर दूध उत्पादन हुँदै आएको छ । जोन कार्यक्रमअन्तर्गत एक किसानले अधिकतम रु ७५ हजार अनुदान पाउनेछन् । जोन कार्यक्रममा ३० जना किसान सहभागी रहेका छन् । गत वर्षसमेत यो कार्यक्रम खैरहनी र राप्ती नगरपालिकामा लागू भएको थियो ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार त्यसअघि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा दूध जोन कार्यक्रम लागू गरिएको थियो । 

यस कार्यक्रममा सहभागी हुने कृषकले व्यवसाय दर्ता, दूध उत्पादनको सहकारी मार्फत प्रमाणित गर्ने लगायत प्रक्रिया पूरा गरेपछि गाई खरिदका लागि रु ७५ हजार अनुदान दिइने गरेको उहाँले बताउनुभयो । 

दूध जोन कार्यक्रमले पशुपालन गर्ने कृषकलाई उत्साह थपेको जनाइएको छ ।