काठमाडौं -  कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

नेपाली काँग्रेसबाट कैलारी गाउँपालिका–२ का सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

आज नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिनुभएको थियो । 

यसअघि ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा पनि नेपाली काँग्रेसका उम्मेद्वार निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।