काठमाडौं - कोसी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावलाई असफल बनाउने निर्णय गरेको छ। 

मुख्यमन्त्री कार्कीले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि आह्वान गरेपछि प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेतासहित सांसदहरुको काठमाडौंमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो। नयाँ बन्ने सरकारको नेतृत्व कुन दलले गर्नेभन्ने विषयमा भने निर्णय हुन सकेको छैन। 

बैठकको निर्णयमा एकीकृत समाजवादीको कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले समेत सहमति जनाएको बताईएको छ। 

गठबन्धनको बैठकमा कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भूपेन्द्र राई, सांसद केदार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सांसद जीवन आचार्य, राजेन्द्र कार्की र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत सहभागी थिए।

माओवादी र जसपाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले जेठ ३१ गते प्रदेशको बजेट अधिवेशन अन्त्य गरेर ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए। 

कोसी प्रदेशको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक छ। सत्तारुढ एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन्। मुख्यमन्त्री कार्कीलाई विश्वासको मतका लागि थप १ सांसद आवश्यक पर्छ। 

प्रतिपक्षमा रहेकामध्ये कांग्रेससँग २९, माओवादी (सभामुखबाहेक) १२, एकीकृत समाजवादी ४ र जसपासँग १ जना सांसद छन्। माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमबाहेक विपक्षीको पनि ४६ जना मात्रै सांसद छन्। समान मत भएका कारण नयाँ सरकार गठनमा निर्णायक मतका लागि प्रतिपक्षीले सभामुखको आश गरेको छ।

तर, कानुनविद्हरू सभामुखले राजनीतिक दलको आवद्धता त्यागिसकेका कारण सरकार गठनमा निर्णायक मत दिन नपाउने तर्क गर्छन्। मुख्यमन्त्री कार्की विश्वासको मत लिने प्रयास गर्ने र मत पाउने सम्भावना नरहेमा राजीनामा दिने तयारीमा छन्।