काठमाडौं - नयाँ नागरिकता ऐन लागू भएको पहिलो दिन नै जिल्ला प्रशासन कार्यालय पर्साबाट १ सय २१ जनाले वंशजको आधारमा नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ३ हजार ६ सयभन्दा बढीले वंशजको आधारमा नागरिकता लिनका लागि आवेदन दिएका छन्। 

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ अनुसार आइतबारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्न सुरु गरिएको हो।

सेवाग्राहीहरूलाई कार्यालयमै आएर पालो कुर्नुपर्ने झन्झट नहोस् भनेर जिल्ला प्रशासन कार्यालयमा अनलाइन टोकन प्रणालीबाट सेवा दिन थालिएको छ। सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा गएर अनलाइनबाटै टोकन लिएर टोकनमा उल्लेख भए बमोजिमको मितिमा आएर सेवा लिन सक्छन्।

पर्सामा २०६३ सालमा खटाईएको नागरिकता टोलीबाट जन्मका आधारमा करीब १३ हजारभन्दा बढीले नागरिकता लिएका थिए । अहिले उनीहरूको १५ हजारभन्दा बढी सन्तानलाई बंशजको नागरिकता वितरण गरिने छ।

यसैबिच, जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएर बाहिरिँदै गरेका युवाहरूमा खुसीको सीमा थिएन। युवाहरूले नागरिकता पाएपछि एक आपसमा अबिर दलेर खुसी साटासाट गर्दै सरकारलाई धन्यवाद दिएका थिए।   

लामो समयदेखि अड्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपनि जेठ १६ गते सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्चले तत्काल कार्यान्वयनमा नजान अन्तरिम आदेश दिएको थियो। त्यसपछि जेठ ७ मा भएको अन्तिम सुनुवाइमा अन्तरिम आदेश खारेज भएपछि उक्त ऐन कार्यान्वयनमा आएको हो।