काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्ध उजुरी दिएर चर्चामा आएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्। 

भट्टराईले सर्वोच्च अदालतका मुख्य रजिष्टार र रजिष्टारको समेत उपस्थितिमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष राजीनामा बुझाएका हुन्। 

राजीनामा बुझाउँदा भट्टराईले प्रधानन्यायाधीशको कार्यकुशलता, नेतृत्व क्षमता, राजनीतिक लगाव लगायतका विषयमा प्रश्न उठाएका थिए। प्रधानन्यायाधीशको नियुक्तिमा राजनीति हावी हुँदा न्यायाधीशको व्यक्तित्व बर्बाद भएको उनले बताएका थिए। 

आफूले उजुरी दिएको व्यक्तिको मातहतमा काम गर्न नैतिकताले साथ नदिने भन्दै भट्टराईले राजीनामा बुझाएका हुन्। आरोप सहितको राजीनामा पत्र बुझ्न असहज हुने भन्दै न्यायाधीश भट्टराइलाई अर्को राजीनामा लेख्न लगाइएको थियो। 

संवैधानिक परिषदको गत वैशाख २५ गते बसेको बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको थियो।