काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । 

अख्तियारले सोमबार १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ ७१ पैंसा बराबरको सम्पत्ति गैरकानुनीरुपमा आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा ढकालविरुद्ध आरोप पत्र दायर गरेको हो ।

ढकालले सार्वजनिक पदमा रहँदा प्रचलित कानुनबमोजिम पेश गरेको सम्पत्ती विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वभाविक उच्च जीवन यापन गरेको र सार्वजनिक पदको दुरूपयोग गरी सम्पत्ति गैरकानुनीरुपमा आर्जन गरेको अख्तियारको ठहर छ ।

साथै ढकालले गैरकानुनीरुपमा आर्जन गरेको स्रोत नखुलेको विगो निजको नाममा हाल कायम रहेको घरजग्गाबाट प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (४७) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ (ख) बमोजिम विगो र जरिवाना जफत गरी पाउन माग दावी गरिएको अख्तियारले अदालतमा पेश गरेको आरोप पत्रमा उल्लेख छ ।