काठमाडौं – अष्ट्रेलिया जानाका लागी आपसमा मिलेर शृंखलाबद्धरुपमा चोरी गर्ने प्रेमी–प्रेमिकालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ र ललितपुरका आईटी पसल र अफिसमा दिनभर रेकी गरेर रातभर चोरी गरेको आरोपमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा ३९ वर्षीय सुबोध श्रेष्ठ र उनकी प्रेमिका १९ वर्षीया रोशनी महर्जन रहेको प्रहरीले जानकारी दिएको छ ।
चोरी गरेरै अस्ट्रेलिया जाने सपना अँगालेका उनीहरू डेढ वर्षदेखि रविभवन स्थित सोल्टी सिटी अपार्टमेन्टको आठौँ तलामा बस्दै आएका थिए । पछिल्लो एक वर्षदेखि उनीसँगै रोशनी ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन् ।
२०७८ जेठ २८ मा राति ललितपुर महानगरपालिका–९ मानभवनमा ओम प्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिंक टेक्नोलोजीमा चोरी भएको थियो । सो चोरी अनुसन्धान गर्दै जाँदा सुबोध र रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । आरोपितहरूविरूद्ध ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको पनी उनले बताएका छन् ।
सुबोधले ग्लोबल लिंक टेक्नोलोजीको झ्याल फुटाएर काउन्टरबाट १ लाख ८ हजार नगद, कम्पनीको सीईओको कोठाबाट ३७ हजार नगद र डेल कम्पनीको ल्यापटप चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानबाट रोशनी पनि चोरीमा संलग्न रहेको भेटिएको छ ।
यस्तैगरी, सुबोधले ज्ञानेश्वरबाट ३२ वटा ल्यापटप र पुतलीसडक स्थित ‘आई टिम प्रालि’ मा पनि चोरी गरेको अनुसन्धानमा संलग्न अधिकृतले बताए । प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ ।
प्रहरीले दुबै प्रेमी–प्रेमीकालाई नियन्त्रणमा लिई यसबारे थप अनुशन्धान भईरहेको जनाएको छ ।
0 comment