काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणी काजी श्रेष्ठले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० माथि गृहमन्त्रालयसम्बन्धी बजेटको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षबाट स्थानीय तहबाटै वितरणको व्यवस्था मिलाइने बताएका हुन् ।

दैनिक १५ हजार कार्ड छपाइ भइरहेको र छपाइ भएका कार्डहरू वितरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने काम भईरहेको गृहमन्त्री श्रेष्ठले बताए । साथै परिचय पत्र नारायणहिटी दरबार परिसरमा रहेको दर्ता स्टेसनबाट वितरणको तयारी भइरहेको जानकारी दिएका छन् । 

गृहमन्त्री श्रेष्ठले राष्ट्रिय परिचयपत्र छपाइ विगतमा ७ हजारको संख्यामा हुने गरेकोमा  हाल त्यसको क्षमता बढाइ दोब्बर बनाइएको बताएका छन् । उनले हाल देशभर जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा ३३९ दर्तास्थानबाट वितरण र दर्ता भइरहेको जानकारी दिएका छन् ।

नागरिकको सुरक्षाका लागि ७७ वटै प्रशासन कार्यालयले जिम्मेवारीका साथ काम गरिरकेका बताएका छन् । नागरिकको जीउधन, समानता, स्वतन्त्रताको संरक्षण शान्तिपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता, व्यापार व्यवसायी उद्यमको सुरक्षा, कानुनको प्रभावकारी कार्यान्वयन र प्रत्येक नागरिकलाई शान्ति व्यवस्थाको अनुभूति दिलाउने,सेवा प्रवाह विकास निर्माण तथा सुशान प्रवर्द्धनमा आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्ने र अन्य मन्त्रालयलाई नतोकिएका विषयमा गृहमन्त्रालय नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र  नेपाल तथा मातहतका विभाग एव कार्यालयहरू ७७ जिल्ला प्रशासन कार्यालय र ७७ इलाका प्रशासन कार्यालय र ७ सीमा प्रशासनहरूले जिम्मेवारीका साथ काम गरिरहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले गृहमन्त्रालय र विपद जोखिम न्यूनिकरण  एवं व्यवस्थापन प्राधिकरणले विपद पूर्व तयारी उद्दार र राहत पुनरस्थापना साथै प्राकृतिक तथा गैरप्राकृति विपद जोखिम न्यूनिकरण र व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी रुपमा सम्पादन गर्दै आएको जिकिर गरे ।