काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षामा अनुत्तीर्ण भएका १८० परीक्षार्थीहरूको परिणाम फेरबदल गरी उत्तीर्ण बनाएको आयोगको दाबी छ। त्यसैगरी, शाहीले प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जना र अनुत्तीर्ण भएका २४४ जना परीक्षार्थीहरूको नतिजा फेरबदल गरी उत्तीर्ण बनाएको आयोगको दाबी छ। उक्त २८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई शाहीले आफैंले स्वीकृत गरेको आयोगले जनाएको छ। शाहीले यसरी नतिजा फेरबदल गरी सवारी चालक अनुमतिपत्र प्रणालीमा प्रविष्ट गरेको आयोगको दाबी छ।

त्यस्तै तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडी  प्रयोग गरी लिखित परीक्षामा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण बनाएको एवं शाहीले प्रविष्ट गरेको २५ अनुपस्थित र १३९ अनुत्तीर्ण गरी जम्मा १६४ जना परीक्षार्थीहरुको नतिजालाई स्वीकृत गरेको आयोगको दाबी छ।