काठमाडौं - स्याङ्जामा टिकटक भिडियो बनाउने बहानामा घरमा आएर सुनका गहना चोरी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पर्वत मोदी गाउँपालिका-३ की २४ वर्षीया कुसुम विसी स्याङ्जा वालिङ नगरपालिका-६ निवासी एक महिलाको गहना चोरी गरेको आरोपमा पक्राउ परेकी हुन् ।
कुसुमले टिकटकमार्फत पिडित महिलालाई साथी बनाई गत असार १ गते उनको घरमा आएर खानपान गर्दै सँगै बसेपछि घरमा कोही नभएको मौकामा दराजमा राखिएको गहना चोरी गरी पोखरामा लगेर बिक्री गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
खनालका अनुसार कुसुमले एक तोलाको करुवा लकेटसहितको सुनको सिक्री र आधा तोलाको बेरुवा औंठी चोरी गरी पोखरा स्थित एक सुनचाँदी पसलमा लगेर बिक्री गरेकी हुन्।
कुसुमलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिइ वडा प्रहरी कार्यालय वालिङमा राखी थप अनुसन्धान भइरहेको खनालले बताए।
अपरिचित व्यक्ति घरसम्मै आउने र मिलेर टिकटक बनाउने चक्करमा ठूला घटना हुन सक्ने भन्दै सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले लाइक, कमेन्ट वा फलो गरिरहेको छ भने सावधानी अपनाउन उनले सुझाएका छन्।
0 comment