काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले २ करोड ३३ लाख मूल्य बराबरको अवैध लागु औषध कारोवार गर्ने ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरीएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
व्युरोले करिब ७ किलो लागुऔषध चरेशसहित एकजना जर्मन नागरिकलाई इस्तानबुल जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए । उनले विशेष अपरेशनका क्रममा १० हजार १ सय ३० पिस एलएसडी स्टीकरसहित ५ जनालाई पक्राउ गरिएको बताएका छन् ।
त्यस्तैगरी ठमेल सातघुम्तीबाट काठमाडौं चन्द्रागिरी घर भएका सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरिएको जोशीले जानकारी दिए । उनले कागजमा टास्ने स्टीकरको स्वरुपमा एलएसडी बरामद गरिएको पनि बताएका छन् ।
यस्तै गत जेष्ठ २८ गते काठमाडौंको सिनामंगलमा भारत घर भएका हेमन्त कुमार भगतलाई खैरो हिरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरि पेस्तोल खोस्ने प्रयास गरेकाले जवाफ कारवाही गर्दा बायाँ खुट्टामा गोली लागी उपचार भइरहेको र उनीसँग सोधपुछ गर्दा भारत घर भइ धरान बस्ने राम भजन भन्ने शंजिव कुमारको समेत संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको जनाएको छ ।
0 comment