काठमाडौं - अखित्यार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध एक करोड ४२ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अखित्यार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको हो। उनीविरुद्ध एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ बिगोसमेत माग गरिएको छ। 

२०४८ फागुन ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका यादवले अवकास पाएको मिति (२०७९ जेठ ९ गते) सम्मको आय व्ययको विश्लेषण गर्दा एक करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ आम्दानी देखिएको आयोगले जनाएको छ। तर सोही अवधिमा यादवले तीन करोड १३ लाख ९८ हजार ५९४ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ। 

यादवले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ असुल उपर गरी पाउन मुद्दामा मागदाबी गरिएको छ।