काठमाडौं - लामो समयदेखि अलपत्र हुलाकी राजमार्ग निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि अनिश्चितकालीन भोक हड्तालमा बसेका छन्। 

कटहरी गाउँपालिका–३ को कार्यालय अगाडि वडाध्यक्ष जदुलाल कामतसहित वडा सदस्यहरू वल्सी दास तत्मा, शंकर पासवान, दुखनीकुमारी पासवान र सुलेखादेवी गनगाईं आज बिहान १० बजेदेखि अनिश्चितकालीन भोक हड्तालमा बसेका हुन्।

निर्माणाधीन सडकको खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको र सवारी चालकको अकालमा मृत्यु भइरहेको भन्दै जतिसक्दो चाँडो राजमार्ग निर्माण गरिनुपर्ने माग राखेर केही दिनअघि स्थानीय आन्दोलित बनेका थिए। आन्दोलनकारीहरू तोडफोडमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। घटनामा संलग्नमध्ये स्थानीय राजेश कामतलाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ। 

घटनामा संलग्न भनिएका राजा कामत, महेश कामत, शंकर पासवान र विकेश मण्डल फरार छन्। पक्राउ परेका १ जना र फरार बनेका ४ जनाविरुद्ध मुद्दा चलाउन गाउँपालिका अध्यक्ष देवराज चौधरीले पालिकाको लेटरप्याड प्रयोग गरेर किटानी जाहेरी दिएको भोक हड्तालमा उत्रिएकाहरूको आरोप छ। जनप्रतिनिधिहरूले यो हड्ताल गाउँपालिका अध्यक्षको तानाशाही प्रवृत्तिविरुद्ध पनि भएको बताए। गाउँपालिका अध्यक्षले माफी मागेर जतिसक्दो चाँडो राजमार्ग निर्माणका लागि पहल गर्ने प्रतिवद्धता नजनाएसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ। 

गाउँपालिकाभित्र पर्ने सडकको खाल्डाका कारण दुर्घटना हुँदा ३ जनाको मृत्यु भइसकेको छ। निर्माणका लागि पटकपटक आग्रह गर्दा ठेकेदारले बेवास्ता गरेको उनीहरुले बताए। 

राष्ट्रिय गौरवका यो आयोजना निर्माण सुरु भएको ४ वर्ष बितिसकेको छ। तर, निर्माणले गति लिन सकेको छैन। विराटनगरको केशलियादेखि मोरङको रतुवा खोलासम्मको ४४ किलोमिटर सडकखण्डमा ८० प्रतिशत बजेट खर्च भइसक्दा भौतिक प्रगति भने ४० प्रतिशत मात्रै देखिएको छ। जसमध्ये रतुवाखोलादेखि १६ दशमलव ५ किलोमिटर पश्चिमसम्मको क्षेत्रको सडकको काम लगभग पूरा हुने चरणमा छ। त्यस्तै रंगेलीदेखि बेतौनासम्मको ७ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बेतौनादेखि विराटनगरको हाटखोलासम्मको क्षेत्रको सडकमा सबैभन्दा धेरै समस्या देखिएको र काम अलपत्र छाडिएको छ। 

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा हेरिएको हुलाकी राजमार्ग निर्माणका लागि मोरङ खण्डमा ५ वटा निर्माण कम्पनीले काम गरिरहेका थिए। यो सडकखण्ड निर्माणका लागि ३ अर्ब ६० करोडको ठेक्का लागेको थियो। ३ वर्षभित्रमा ४ लेन सडक निर्माण गर्ने सम्झौतासहित २०७६ सालमा ठेक्का सम्झौता भएपनि म्याद थप गरेर २०८० कात्तिकसम्म पुर्‍याइएको छ। हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने सडकका कारण स्थानीय मारमा परेका छन्। 

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले राजमार्गमा निर्माणमा आफूहरूले पहल गरिरहेको र ठेकेदारको लापरवाहिले समस्या भइरहेको बताए। तर, आन्दोलनका नाममा अराजकता मच्चाउनेको पक्ष भने लिन नसकिने चौधरीको भनाइ छ।

गत वैशाख २१ गते विराटनगरमै पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा सदस्य, कोसी प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखहरूले हुलाकी सडक निर्माण तत्काल सुरु नभए जनतालाई साथमा लिएर आन्दोलन थाल्ने चेतावनी दिएका थिए।  

पूर्वमा झापाको भद्रपुरदेखि पश्चिममा कञ्चनपुरको दैजीसम्म जोड्ने हुलाकी राजमार्गको काम सुस्त हुँदा लाखौं सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ।