काठमाडौं - नेकपा एमालेले सत्ता र शक्तिको आडमा त्रिविका उपप्राध्यायक प्रेम चलाउनेको मुद्दा फिर्ता लिएकोमा आपत्ति जनाएको छ। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले उपप्राध्यापक चलाउनेलाई मार्ने उद्देश्यले सांघातिक आक्रामण गर्नेहरु विरुद्धको मुद्दा सरकारले फिर्ता लिएको भन्दै आपत्ति जनाएका छन्। न्याय नपाएपछि चलाउने आमरण अनसनमा बस्न पुगेको बताउँदै बर्तौलाले न्याय दिलाउन सरकारसमक्ष आग्रह गरेका छन्। 

बर्तौलाले चलाउनेलाई न्याय नदिएर राज्यले दण्डहिनतालाई प्रश्रय दिने काम गरेको उल्लेख गरे। उनले कानुन मन्त्री धनराज गुरुङलाई भने, ‘तपाईंको निर्देशनमा ज्यान मार्ने उद्देश्यले दर्ता भएको मुद्दा फिर्ता लिँदै जाने हो भने सुशासनको परिभाषा के रहेछ जान्ने अवसर प्राप्त भयो। म दुख व्यक्त गर्न चाहन्छु।'

त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ वैशाख २० गते सत्तासीन कांग्रेस निकट विद्यार्थी नेताहरूले आक्रमण गरेका थिए। त्यसविरुद्ध जिल्ला अदालतमा मुद्दा पर्‍यो। तर, २०७९ जेठ ४ गते तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा फिर्ता लिन सकिने राय सरकारलाई दिए। 

चलाउनेमाथि आक्रामण गर्ने सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला अदालतमा मुद्दाको अन्तिम सुनुवाइ हुनु दुई दिनअघि असार ३ गते सरकारले उक्त मुद्दा फिर्ता लियो। आफूले न्याय पाउनुपर्ने भन्दै उपप्राध्यापक चलाउनेले अनशनको बाटो रोजे। 

उपप्राध्यापक चलाउनेको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार विरोध स्वरूप लगाएको ताला तोडेको कारणबाट विवाद उत्पन्न भएको हो। ज्यान मार्ने नियत होइन। यो पूर्वरिसइवी होइन भन्ने तर्क इजलास समक्ष राखिने छ।

सरकारी वकिलको निवेदनमाथिको सुनुवाइपछि अदालत सहमत भएमा मात्र मुद्दा फिर्ता हुन सक्छ। 

यसैबिच चलाउनेले मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। चलाउनेले सरकारको निर्णय गैरकानुनी र असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्। चलाउनेका अनुसार रिटको पेसी बिहीबारका लागि तोकिएको छ।