काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ। 

१ जनवरी २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको हो। आज बिहान अन्तर्राष्ट्रिय उडानको रुपमा चीनको छेन्दुकबाट सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान पोखरामा पहिलो पटक अवतरण गरेको हो। 

पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा आएका चिनियाँ पाहुनालाई पोखरेलीले भव्य स्वागत गरेका छन्। पोखरा विमानस्थल नजिकै चिनियाँ पाहुनाको स्वागतमा स्वागतद्वार बनाइएको छ। पोखराको मुख्य बजार क्षेत्रमा चिनियाँ फेस्टिभलको ब्यानर राखेर झिलिमिली बनाइएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखराको फेवातालमा असार ८ र ९ गते नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल हुँदैछ। फेस्टिभलका लागि चिनियाँ पाहुना लिएर चार्टड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसन महोत्सवको सहआयोजक रहेका छन्।  

फेस्टिभलमा नेपाल र चीनका गरी १२० जना प्रतियोगीहरुको सहभागिता रहने बताइएको छ। दुई सय र पाँचसय मिटरमा गरि दुई भागमा आठ वटा डुंगाबाट रेस हुने छ। चीनबाट ल्याइएका चार वटा डुंगामा नेपाली र ४ वटा डुंगा चीनका प्रतिस्पधी रहने छन्। प्रतियोगितामा विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने छन्।

महोत्सवमा नेपाल र चीन दुबै देशका सांस्कृतिक कार्यक्रमको साथै दुबै देशका बिभिन्न खानाका परिकार प्रदर्शन हुने छ। कार्यक्रममा सहभागी हुन चीनको लिङजी सहरबाट नगर प्रमुखसहित ६० जनाको टोली पनि पोखरा आउने बताइएको छ। 

कोभिड संक्रमणपछि चीनले गत मार्च १५ देखि लागु हुने गरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। गत मार्चदेखि पोखरामा चिनियाँ पर्यटक आउने क्रम सुरु भएको छ।

यस अघि चिनियाँलगायत विभिन्न देशका पर्यटकको आगमन ठप्प भएपछि पोखरामा रहेका चिनियाँ लगानीका धेरै होटल तथा रेस्टुरेन्ट व्यवसायी विस्थापित भएका थिए। कोभिड अघि १५ वटा चिनियाँ लगानीका रेस्टुरेन्ट संचालनमा रहेकोमा अहिले ५ वटा मात्र सञ्चालनमा छन्। 

चिनियाँ ऋण लगानीमा बनेको पोखरा विमानस्थलमा पहिलो पटक चार्टड विमान अवतरणपछि छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान पनि सुरु हुने विश्वास पर्यटन व्यवसायीको छ। यही विश्वासमा पोखराका पर्यटन व्यवसायीले पूर्वाधारमा लगानी बढाइरहेका छन्।

चिनियाँ महोत्सवले चीनमा नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्डले जनाएको छ। महोत्सवपछि पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने बोर्डको विश्वास छ।