काठमाडौं – बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी घाइते भएका मध्य धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त भएका छन् ।
घाईतेलाई उपचारकालागि बाँकेस्थित कोहोलपुर मेडिकल कलेज लगीएको थियो । कोहोलपुर मेडिकल कलेज अर्थोपेडिक रेसिडेन्ट डा. ब्राइन पोख्रेलका अनुसार धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको जानकारी दिएका छन् ।
घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा आएको जानकारी दिएका छन् । जोशी र भण्डारी दुवैजना बोल्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ । जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जीप चालक र भण्डारी अंगरक्षक हुन् ।
उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुवैजनाको मेरुदण्डमा समस्या देखिएको डा. पोख्रेलले जानकारी दिएका छन् । जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडिको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ । उनीहरू दुवै जनाको आफन्त नहुँदा शल्यक्रिया रोकिएको बताएका छन् । दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा. ब्राइनले जानकारी दिएका छन् ।
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जिप डडेल्धुरा बाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।
मन्त्री नियुक्त भएको ३० औं दिनमा पहिलो पटक गृह जिल्ला बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना परेका थिए । दुर्घटना लगत्तै उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज पुर्याईएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
0 comment