बझाङ - बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह सवार जीप दुर्घटनामा मन्त्री सिंह दम्पती सहित तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह, उनकी पत्नी अमृतादेवी सिंह र उनका भाउजु जयदेवी सिंह रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई केदारस्युँ गाउँपालिकाको देउरास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्र र ऋतु पोलिक्लिनिक लगिएको थियो। उपचारकै क्रममा रायलमै मन्त्री सिंहकी धर्मपत्नी र भाउजुको मृत्यु भएको हो। 

यता ऋतु पोलिक्लिनिकमै मन्त्री सिंहको नाभीको चाल र मुटुको धड्कनले काम गर्न छोडिसकेको त्यहाँ कार्यरत चिकित्सकले बताएपछी सुर्खेतबाट आएको हेलिकोप्टरले मन्त्री सिंहसहित चालक जोशी र अंगरक्षक भण्डारीलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याएको थियो। मेडिकल कलेजले साँझ ५:३३ बजे मन्त्री सिंहलाई मृत घोषित गर्‍यो ।

दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ।

मन्त्री बनेपछी पहिलोपटक गृहजिल्ला बझाङ प्रवेश गर्न लागेका मन्त्री सिंह सोमबार प्रदेश राजधानी धनगढीबाट ४ जना परिवार सदस्यसहित १६ जनाको टोली लिएर डडेलधुरा पुगेका थिए। डडेलधुरामा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सकेर टोली त्यहिँ बास बसेको थियो। मंगलबार बिहानै डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन गरेर टोली बझाङका लागि हिँडेको थियो।
दिउँसो १२ बजे बझाङ प्रवेश भएको मन्त्री सिंहको ०१००१ झ ४८० जीप साँढे १ बजे केदारस्युँ गाउँपालिका-४ कालंगा खोला किनार धारछडी भन्ने स्थानमा दुर्घटनाग्रस्त हुन पुग्यो। जीप सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

उनले बझाङमा रहँदा असार ६ गते ढँडार मष्टा मन्दिर दर्शन तथा भेटघाट गरेर एलइओसी कार्यक्रम उद्घाटनसहित बझाङका कार्यालय प्रमुखलाई निर्देशन दिएर ७ गते धनगढी फिर्ता हुने कार्यतालिका थियो। 

सिंह प्रदेश सरकारमा बझाङबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन्। गत मंसिर ४ मा भएको प्रदेशसभा चुनावमा उनी बझाङ–१ बाट सुदूरपश्मिम प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनी १२ वर्षसम्म नेपाली कांग्रेस बझाङको जिल्ला समिति सभापति रहेका थिए। ५५ वर्षीय सिंहको निधनले सिंगो बझाङ स्तब्ध बनेको छ। 

यसैबीच, नेपाली कांग्रेसले सिंहको निधनले अपूरणीय क्षति भएको जनाएको छ। सिंहले पार्टीमा लामो समय विभिन्न पदीय जिम्मेवारी सम्हालेको कांग्रेसले जनाएको छ। 

'लामो समयसम्म नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर पृथ्वीबहादुर सिंहले कार्य गर्नु भएको थियो। उहाँले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो। उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ,' विज्ञप्तिमा भनिएको छ। 

सिंहको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ।