काठमाडौं – उपप्राध्यापक चलाउनेलाई न्याय माग्दै अदालत परिसरमा प्रदर्शन भएको छ । मंगलबार बिहान बृहत नागरिक आन्दोलनले उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन माग गर्दै काठमाडौं जिल्ला अदालत परिसर अगाडि प्रदर्शन गरेका हुन् ।
सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता लिएपछि विरोध प्रदर्शन सुरू भएको हो । चलाउनेलाई न्याय दिन र उनको मागमा ऐक्यवद्धता जनाउन प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीले बताएका छन् ।
अदालतभित्र नाराजुलुस गर्न थालेपछि चलाउनेसहित केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सोमबार धर्ना दिन जिल्ला अदालत काठमाडौं पुगेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चलाउने बिगत ३ बर्ष देखि आफ्नो शरीरको विभिन्न अङ्गमा स्टिलको रड राखेर कष्ट्कर तरिकाले जीवन बिताउँदै आएका छन् । आफुमाथी ज्यान मार्ने मनसायले भौतिक आक्रमण गरी मर्नासन्न अवस्थामा पुर्याएको आरोपमा मुद्दा खेपिरहेका नेवि संघका हरी आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने आमरण अनसन बस्ने भन्दै जिल्ला अदालत परिसरमा पुगेका थिए ।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा ज्यान मार्ने मनसायले आक्रमण गरेको आरोप लागेका नेविसंघका हरी आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाईमा पुगेको मुद्दा सरकारले फिर्ता लिएको छ ।
0 comment