काठमाडौं – निर्वाचित जनप्रतिनिधिले विद्यालयको जस्ता चोरेर सूँगुरको खोर बनाएको सुन्दा सबैलाई अच्चम लाग्न सक्छ । तर अच्चम मानेर के गर्नु ? दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वाराका वडा सदस्य हरिबहादुर मगरले विद्यालयको जस्तापाता चोरेर सुँगुरको खोर बनाएका छन् ।

वडा सदस्य हरिबहादुर मगरले वडाको शिवलेङगेश्वर मा.वि ताम्चेतको विद्यालय परिसरमा राखेको जस्तापाता, फलाम, काठ–पात लगायतका सामाग्री राति गाडीमा लोड गरी लगेको स्थानीयले बताएका छन् । एक पटक प्रयोग गरी निकालेर राखिएका काठ, जस्तापाता, फलामका विभिन्न सामाग्री राता–रात उठाएको सोही विद्यालयको व्यवस्थापन समितिका एक पदाधिकारीले नाम नभन्ने सर्तमा बताएका छन् ।

चोरी भएको सामानले वडा सदस्य मगरले ३०/४० वटा सुँगुर अट्ने फार्म बनाएका छन् । वडा र पालिकाबाट कृषि तथा पशुपालन अनुदान कुम्ल्याउनले उद्देश्यले मगरले विद्यालयका सामान उठाएर रातारात फर्म तयार पारेका हुन् ।

रातारात गायब पारिएको सामान कहाँ छ ? प्रहरीमा रिपोर्ट गर्नु भयो भनी शिवलेङगेश्वर मा.वि. ताम्चेतको विद्यालयका प्रधानाध्यापक तामाङलाई यसबारे बारम्बार फोन गर्दा उनले फोन उठाउदैनन् बरु फोन काटि दिन्छन् । तामाङ ३ महिना अगाडि मात्रै प्रधानाध्यापकमा नियुक्त भएका थिए । 

मगर नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन् । विद्यालयको सामाग्री चोरेर सुँगुरको फार्म तयार पारेको उनीमाथि स्थानीयहरूको आरोप छ । आफ्नो सुँगुरको खोरमा छाउनका लागि नयाँ जस्ता आउन केही दिन लाग्ने भएकाले जस्ता लगेको वडा सदस्य हरिबहादुरले भने स्वीकार गरेका छन् ।