काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आजै साँझदेखि न्याय नपाएसम्म त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयअगाडि आमरण अनसन बस्ने बताएका छन्।

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध धर्ना दिन आजै काठमाडौं जिल्ला अदालत पुगेका चलाउनेलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेको थियो।

चलाउने बिगत ३ बर्ष देखि आफ्नो शरीरको विभिन्न अङ्गमा स्टिलको रड राखेर कष्ट्कर तरिकाले जीवन बिताउँदै आएका छन्।

आफुमाथी ज्यान मार्ने मनसायले भौतिक आक्रमण गरी मर्नासन्न अवस्थामा पुर्याएको आरोपमा मुद्दा खेपिरहेका नेवि संघका हरी आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने आमरण अनसन बस्ने भन्दै जिल्ला अदालत परिसरमा पुगेका थिए।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा ज्यान मार्ने मनसायले आक्रमण गरेको आरोप लागेका नेविसंघका हरी आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाईमा पुगेको मुद्दा सरकारले फिर्ता लिएको छ।