काठमाडौं - मोरङमा अवैध तरिकाले गर्भपतन गराउँदा महिलाको मृत्यु भएपछी गर्भपतन गराउने मेडिकल सञ्चालक पक्राउ परेका छन्।
मोरङको उर्लाबारी - ६ स्थित आश्रय मेडिकल हलले दिएको गर्भपतन गराउने औषधि सेवन गर्दा झापाको दमक नगरपालिका–४ ताराबारीकी ४० वर्षीया कल्पना राईको मृत्यु भएपछी प्रहरीले मेडिकल हलका सञ्चालक ४० वर्षीय सन्तोष घिमिरेलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार इच्छाविपरीत गर्भ रहेको भन्दै गर्भपतनका लागि राई गत जेठ ३२ गते बिहीबार आश्रय मेडिकल हलमा पुगेकी थिईन् । घिमिरेले गर्भवतीलाई कुन औषधि सेवन गराए भन्ने खुल्न बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालको भनाइ छ।
‘औषधि सेवनपछि रक्तश्राव हुन थालेछ। रक्तश्राव नरोकिएपछि घिमिरेले नै उपचारका लागि उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पुर्याएको पाइयो,’ उनले भने, ‘अस्पताल पुर्याउँदा बिरामीको अवस्था नाजुक भइसकेको रहेछ। चिकित्सकले चेकजाँच गर्दा गर्भभित्रको शिशुको पनि मृत्यु भइसकेको पत्ता लाग्यो।’ ट्रमा सेन्टरमा कल्पनालाई भर्ना गराउँदा पति युवराज पनि सँगै थिए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान भनिएको थियो। तर, आर्थिक अवस्था कमजोर रहेको कारण देखाउँदै परिवारका सदस्यले अन्यत्र लैजान नसक्ने बताएपछि ट्रमा सेन्टरमै उपचार सुरु गरिएको थियो। ‘रक्तश्राव रोक्न र गर्भभित्रको मृत बच्चा निकाल्न शल्यक्रिया गरियो। तर, रक्तश्राव रोकिएन।’, डा. साहले भने ।
शरीरमा ‘हेमोग्लोबिन’को कमी देखिएर बिरामीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएपछि थप उपचारका लागि रेफर गरिएको थियो। परिवारका सदस्यले थप उपचारका लागि कल्पनालाई शनिबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। गम्भीर अवस्थाकी उनलाई तत्काल आईसीयूमा भर्ना गरियो। उपचारकै क्रममा आइतबार बिहान ३:५० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
चिकित्सकको लापरबाहीले घटना भएको भन्दै परिवार र आफन्तले शव उर्लाबारी लगेर आइतबार दिनभर ट्रमा सेन्टर अगाडि राखेका थिए। लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग उनीहरुको थियो। तर, प्रहरीले अवैध तरिकाले गर्भपतन गराउन खोज्दा महिलाको मृत्यु भएको पत्ता लगाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ नेतृत्वको टोलीले मेडिकलका सञ्चालक घिमिरेलाई पक्राउ गरेको हो।
घिमिरेविरुद्ध ज्यान सम्बन्धि कसूरमा मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए। उनका अनुसार सोमबार नै विराटनगरको कोसी अस्पतालमा पोस्टमार्टम गरेर शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको छ।
ट्रमा सेन्टरका मेसु साहले मृतकको गर्भमा २२ देखि २४ हप्तासम्मको बच्चा रहेको हुनसक्ने बताए।
गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतनलाई कानुनले वैधानिक मानेको छ। आमाको ज्यान खतरामा पर्नसक्ने र मानसिक तथा शारीरिक अवस्था खराब हुनसक्ने वा बच्चा सकुशल नहुने, जबरजस्ती एवं हाडनाता करणीबाट गर्भ रहेमा, गर्भवतीलाई निको नहुने रोग लागेमा, जन्मिएर पनि बच्चा बाँच्न सक्ने अवस्था नभएमा वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था आएमा इजाजत प्राप्त चिकित्सकको रायअनुसार गर्भवती महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ।
0 comment