काठमाडौं – समाजवादी मोर्चाको घोषणा सोमबार अपरान्ह ४ बजे राष्ट्रियसभा गृहमा घोषणा सभा आयोजना गरिएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपालले आज दिउँसो ४ बजे समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका छन् । 

सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु आज समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका थिए ।

समाजवादी मोर्चाको कार्यविधि र प्रतिबद्धतामाथि थप छलफल गर्न सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । 

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ, नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतका नेता सहभागी भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका थिए । 

आइतबारको शीर्ष नेताहरूको बैठकमा सोमबार अपरान्ह ३ बजे घोषणा गर्ने समहति भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्र संखुवासभा गएपछि मोर्चा ४ बजे घोषणा हुने भएको हो ।

समाजवादी मोर्चामा नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लबलगायतका नेताहरुबीच सहमति जुटेपछि आज समाजवादी मोर्चा घोषणा हुन लागेको हो ।

सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गर्न लागिएको नेताहरुले बताएका छन् ।