काठमाडौं ः चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन स्वास्थ्य लाभ गरी नेपाल फर्किएका छन् । 

उनी चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार स्वदेश फर्किएका हुन् । पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएका छन् ।

पूर्वमन्त्री पुनलाई जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत फागुन १ गते चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । चिकित्सकका अनुसार सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुन्छ । 

पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईंलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।