काठमाडौं - ललितपुर महानगरपालिका र जिल्ला प्रहरी परिसर ललितपुरबिच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महानगरको विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा जडान गर्न महानगर र ललितपुर प्रहरीबिच समझदरी भएको हो ।

महानगरले एक कार्यक्रम आयोजना गरी ललितपुर प्रहरीसँग सिसिटिभी क्यामेरा जडान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिको विभिन्न ठाउँमा १४ सय स्मार्ट स्ट्रीट लाइट जडान भईसकेको र उक्त स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न प्रहरीको बिज्ञतालाई प्रयोग गर्दा अझ बढी प्रभावकारी हुने बताउनु भयो ।

ललितपुर जिल्लामा शान्ती सुरक्षाको लागि आज भएको सिसिटिभी क्यामेरा जडानको लागि समझदारी पत्रमा भएको हस्ताक्षर कोसेढुङ्गा साबित हुने र यसले ललितपुर क्षेत्रको शान्ती सुरक्षामा थप मद्धत पुग्ने उपत्यका प्रहरी कार्यालयका उप प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यले बताउनु भयो ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले शान्ती सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामेरा जडान गर्न जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धिबिक्रम शाहलाई ३ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

महानगरपालिकाले गत वर्ष पनि सिसिटिभी क्यामेरा जडान गर्न २ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।