काठमाडौं - प्रतिवन्धित अनलाइन जुवा एप वान एक्स बेटको अनुसन्धान गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मास्टर एजेन्टलाई पक्राउ गरिसकेपछि वान एक्स बेट बाजी खेलाउन सहयोग पुर्‍याउने ८ जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको बन्स्थली बस्ने वर्ष ३५ को बल्छी ध्रुबे भन्ने मरिचान श्रेष्ठ, काठमाडौ नयाँबजार बस्ने वर्ष ३६ को राजु मास्टर भन्ने राजु पौडेल, भक्तपुरको सिरुटार बस्ने वर्ष २८ को म्याकुरी भन्ने पवन खतिवडा, ललितपुर टिकाथलि बस्ने वर्ष २८ को एलिस राई, सोही ठेगानाका वर्ष १९ को गणेश जिडि भन्ने गणेश देवकोटा, भक्तपुर ठिमी बस्ने वर्ष  २५ को ढेडु बूढो भन्ने सरोज घिमिरे, काठमाडौं किर्तिपुर बस्ने वर्ष २४ को जलन घर्तिमगर, काठमाडौंको कलंकी बस्ने वर्ष २८ को भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन् । उनीहरूलाई प्रहरीले बुधबार विभिन्न ठाउँबाट पक्राउ गरेको हो। 

उनीहरुले आ-आफ्नो युटुब च्यानलमार्फत कमिसन रकम लिएर वान एक्स बेटको प्रचार प्रसार गरि जुवा खेल्न अभिप्रेरित गरेको आरोपमा पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसिले बताउनु भयो ।

पक्राउ पर्नेहरु अधिकांश नेपाली टेलिशृङ्खलाका चर्चित कलाकार रहेका छन् । पक्राउ परेकाहरु माथी जुवा ऐन (क) साथै राष्ट्र बैंक ऐन र सम्पत्ती शुद्धिकरण मुद्धा पनि आकर्षित हुने प्रमुख केसि बताउनु हुन्छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, टेकु पठाईएको छ ।