काठमाडौं – रुपन्देहीबाट अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा दुई जना व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेहरुमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका सह लेखापाल वर्ष ३३ का मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँका जिल्ला हुलाक कार्यालय सप्तरीमा कार्यरत नायब सुब्बा ३० वर्षीय नारायण यादव रहेको प्रहरीले जनाएको छ । 

अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन् । 

लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसूर मुद्दामा दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।