काठमाडौं – जुम्लामा अस्थायी पुलबाट चिप्लिएर एक युवा नदीमा बेपत्ता भएका छन् । 

यसरी बेपत्ता हुनेमा, तिला–६ निवासी घोडे गाउँका कर्णबहादुर रोकायका छोरा अन्दाजी १७ वर्षका मोहन रोका रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।   

रोका जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिएका छन् ।

उनी आज बिहान ६ बजेतिर तिला–१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेका थिए । 

नदीमा खसेको खबर पाए लगत्तै प्रहरी र स्थानीयले रोकाको खोजी कार्य गरिरहेका छन् । तिला नदीको पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भई रहेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिएका छन् ।