काठमाडौँ – काठमाडौँ महानगरपालिका २३ ओमबहालमा भाईले खुकरी प्रहार गरी दाईको हत्या गरेका छन् ।
मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।
रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो, यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको छ ।
धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको प्रहरीले जानकारी दिएको छ ।
हत्यापछि फरार रहेका आरोपी भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 comment