काठमाडौं - स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेको प्यूठानमा जीप दुर्घटना हुँदा जीपमा सवार आठैजनाको घटनास्थलमै मृत्यु भएको छ। 

स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिङ्रीमा दुर्घटनाग्रस्त भएको हो। जीपमा सवार आठैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा २ महिला, २ पुरुष र ४ बालबालिका छन्। 

दुर्घटनामा चालक दाङको लमही नगरपालिका-५ का ताराबहादुर कुमाल, तुलसीपुर उपमहानगरपालिका-१५ की ३५ वर्षीया सरिता शर्मा पोखरेल, उनका छोराहरू १४ वर्षीय विशाल पोखरेल र ९ वर्षीय विकास पोखरेलको मृत्यु भएको छ। यस्तै लमही-७ का ४० वर्षीय गोविन्द साह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली, उनीहरूका छोरा ९ वर्षीय आजित साहको पनि मृत्यु भएको छ। एक जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जीप पूरै क्षतिग्रस्त भएको छ। दुर्घटनापछि यात्रुहरूलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएकोमा सबैको मृत्यु भएको हो।