काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग राखेका छन् । 

टीकापुर घटनामा आममाफी पाएपछि चौधरीले सोमबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै पूर्वसहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्। भेटवार्तामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्।

दुई मन्त्रालय नपाएकाले नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन।

चौधरीले टीकापुर घटनामा थारूहरू अन्यायमा परेको भन्दै न्याय दिलाउन सरकारसँग माग गरे। उनले अझै टीकापुर घटनामा निर्दोष थारूहरु जेलमा रहेको भन्दै रिहाइका लागि अनुरोध गरे। उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर निर्दोष थारूहरुलाई न्याय दिनुपर्ने सुझाव दिए।

प्रधानमन्त्रीले सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई भनेबमोजिमको मन्त्रालय उपलब्ध गराउन आफूले पहल गर्ने बताए। प्रधानमन्त्रीले टीकापुर घटनामा जेल परेका निर्दोषहरूले पनि न्याय पाउनुपर्ने बताए।