काठमाडौं - सरकारले स्टक लाइसेन्स र ब्रोकर लाइसेन्स प्रक्रियाबारे नेपाल धितोपत्र बोर्डसँग जवाफ माग्ने भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबार बिहान बसेको बैठकले बोर्डसँग जवाफ माग्ने निर्णय गरेको समितिको सभापति सन्तोष चालिसेले जानकारी दिए।
अर्थ समितिले जेठ ७ गते धितोपत्र बोर्डलाई पत्र लेख्दै नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण तथा अर्थ समितिले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जानकारी मागेको थियो । धितोपत्र बोर्डले अर्थसमितिलाई जेठ १२ गते जवाफ पठाए पनि समितिको आजको बैठकमा सांसदहरूले बोर्डको जवाफ अपूर्ण र अमूर्त रहेकाले बोर्डलाई बोलाएरै जवाफ लिनुपर्नेमा धारणा राखेका थिए।
समितिले नयाँ लाइसेन्स वितरण रोक्न पत्राचार गरेपछि पनि थप ब्रोकर लाइसेन्स बाँडिएका विषयमा छानविन गरिनुपर्ने धारणा सांसदहरूले राखेका थिए। यसरी लाइसेन्स बाँड्दा न्यूनतम मापदण्डको पालना र पारदर्शितामा प्रश्न उठेको छ । नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे अर्थ समितिमा उजुरीसमेत परेकाले बैठकमा उपसमिति बनाएर छानबिन गर्नुपर्ने माग समेत उठेको छ ।
0 comment