काठमाडौं - कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भएको छ। 

कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरुसँग सोमबार मन्त्रालयमा भएको भेटवार्ताका परराष्ट्रमन्त्री एनपी साउदले गेटामा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए। मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको बताए। 

उनले भने, ‘क्याविनेटबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको छ। प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिवसँग छलफल गरेरै क्याविनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो।’

गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट गेटामै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए।

गेटामा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक निर्णय गरिसकेको उनको भनाइ थियो। मन्त्रीहरु, मुख्यसचिवसहित सहभागी रहेको प्रधानमन्त्रीको टोलीले फागुन १ गते गेटा मेडिकल कलेजका लागि निर्माण भएका भौतिक पूर्वाधारहरुको अवलोकन तथा निरीक्षण गरेको थियो। प्रधानमन्त्रीले गेटामा मेडिकल कलेज मात्रै नभई देशकै निम्ति गौरवको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने बताएका थिए । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालय बनाउने उल्लेख गरिएपनि अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यका क्रममा एक सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरिएको बताएपछि सुदूरपश्चिमका बासिन्दा आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आइतबार सुदूरपश्चिम बन्दको आयोजना गरिसकेका छन्।