काठमाडौं - पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ ।
विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो । परिपत्रमा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ । यस्तै विभागले बनेपा नगरपालिकालाईसमेत उक्त कार्य रोक्न पत्राचार गरेको छ ।
गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेल सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । निर्माण भएको २५ वर्षपछि राजमार्गको सूर्यविनायक–धुलिखेल (१५.५ किलोमिटर) सडकखण्ड चार लेनमा विस्तार गर्न लागिएको हो ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्डका लागि तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको छ ।
यस्तै विभागको आग्रहमा पाँचखाल नगर क्षेत्रमा भेटिएका ऐतिहासिक सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तनि वर्षअघि सम्पदा क्षेत्रमा खनजोत गर्न रोक लगाएको छ ।
पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि प्रारम्भिक चरणमा बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले जियोफिजिकल सर्वे गरिसकेको छ ।
- रासस
0 comment