काठमाडौं - कैयौं मानिसलाई विभिन्न देश पठाईदिने भन्दै साँढे २ करोड ठगी गरी कन्सल्टेन्सी सञ्चालक फरार भएका छन् ।
काठमाडौंको बानेश्वरमा कनेक्टियर बर्ड कन्सल्टेन्सी चलाएर बसेका सञ्चालकद्वय मोरङ बेलबारी–३ घर भएका अजित तामाङ र झापा शिवगन्ज–३ घर भएका सागर कुमाल कैयौं मानिसलाई विभिन्न देश पठाईदिने भन्दै २ करोड ५८ लाख ठगी गरी फरार भएका हुन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ।
गत चैत २९ गते वैदेशिक रोजगार विभागले उनीहरूलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्नका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका नाममा पत्राचार गरेको छ। प्रहरीले खोजी कार्य जारी राखेपनी उनीहरू हालसम्म पक्राउ परेका छैनन्।
कन्सल्टेन्सीमा म्यानेजरका रूपमा काम गर्ने झापाकै कलादेवी सुवेदी हाल पुर्पक्षका लागि थुनामा छिन्। उनले नै विदेश जान इच्छुक व्यक्तिहरूसँग कन्ट्याक गर्ने, सम्झौता गर्ने र पैसा बुझ्ने गर्थिन्। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंमा मुद्दा चलिरहेको छ। अदालतले उनलाई ३ वर्ष कैद र ७० लाख धरौटी तोकेको छ।
उनीहरुले सामाजिक सञ्जालमा विज्ञापन दिएर रोमानिया, सर्बिया, माल्टा, पोर्चुगल लगायतका देशमा आकर्षक कमाइ हुने र सजिलै भिसा लाग्ने तथा भिसा आएपछि मात्रै पैसा बुझाउनु पर्ने बताएर विदेश जान इच्छुक व्यक्तिहरूलाई कन्सल्टेन्सीसम्म तान्ने अनि बिभिन्न प्रक्रीयाका नाममा पटक पटक ठगी गर्ने गरेको देखियो । पासपोर्टमा नक्कली भिसा लगाएर उड्नका लागि तयारी गर्नुहोस् भन्दै ठगी गरेको पनि देखियो ।
उनीहरुले रोमानिया पठाईदिने भन्दै पिडितहरु भवानी तिमल्सेनासँग साँढे ३ लाख, अस्मिता तिमल्सेनासँग ५ लाख, सुवास भट्टसँग ४ लाख, अनु दुलालसँग ५ लाख, दिपेश उलकसँग ७ लाख, विमल श्रेष्ठसँग ७ लाख, आशिष श्रेष्ठसँग ७ लाख, अरुण थापासँग ५ लाख, सुनील श्रेष्ठसँग ६ लाख, सञ्जय अधिकारीसँग ५ लाख, चुच्चेबहादुर तामाङसँग ७ लाख, टेकबहादुर मोक्तानसँग ७ लाख, सन्दीप चन्दसँग ७ लाख, धन मगरसँग ६.५ लाख, नमराज बान्तवा र पुण्य दमाईसँग ७–७ लाख, प्रकाश देवकोटासँग सर्बिया पठाईदिने भन्दै ७ लाख ३० हजार र भरत विकसँग ४ लाख ठगी गरेका छन्।
0 comment