काठमाडौं – निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोसिस भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले प्रस्तुत बजेटले मन्दीको अवस्थामा पुगेको अर्थतन्त्रको समस्यालाई सामान्यीकरण गरेको मात्र बताएका छन् । साथै सरकारले लिएको पहल कदमीले अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालेको भ्रम छर्ने काम मात्र गरेको आरोप लगाएका छन् । 

उनले आफूले निर्वाचन पूर्वाधार विकास कार्यक्रम खारेज गरेको भएपनि अहिलेको सरकारले पुनः ल्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गरेको टिप्पणी गरेका छन् । 

अहिलेको बजेटले नेपालको अर्थतन्त्रको समाधान नहुने बताउँदै उनले नेपाल आफैँले लगानी गर्ने भनिएको जलविद्युत आयोजनाहरु विदेशीलाई हस्तान्तरण गर्ने काम सरकारले गरेको आरोप लगाएका छन् ।

पूर्वअर्थमन्त्री पौडेलले कम किलोवाट क्षमताका विद्युतीय सवारी साधनको कर किन बढाएको भन्दै प्रश्न गरेका छन् । पौडेलले विद्युतीय सवारी साधनको करको हर हेरफेर गर्ने प्रस्तावको औचित्य पुष्टि गर्न समेत चुनौती दिएका छन् ।