काठमाडौं - मुलुकको संघीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा ६ हजारभन्दा बढि मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन्।

पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत चेक बाउन्स, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ भने पछिल्लो समय भुमाफियाहरुले जग्गा किन्दा अधिकांश खातामा रकम नभएको चेक दिएर ठग्ने र यस्तो प्रवृत्तिले गर्दा कतिपय पिडितहरु घरबार बिहिन भएर सडकमा पुग्ने गरेको कारण मानसिक सन्तुल गुमाउनेदेखि आत्महत्यासम्मको बाटो रोज्न बाध्य हुने गरेको प्रहरीको भनाइ छ ।

चालु आवमा काठमाडौंमा दर्ता भएका १० हजार मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जिल्ला प्रहरी परिसरका काठमाडौं प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनु भयो । दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३० देखि ३५ वटा परिसरमा दर्ता हुने गरेको छ । पछिल्लो समय काठमाडौंमा बैंकिङ कसुर र संगठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको प्रवक्ता रिजालको भनाइ छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराध बाहेक चालु आवमा अभद्र व्यवहार सम्बन्धी २ हजार ८, विविध अपराध ५ सय ७५, चोरीसम्बन्धी कसुर ४ सय ४५, लागुऔषध २ सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर २ सय ५७, आत्महत्यासम्बन्धी कसुर २ सय ३१, सवारी ज्यान तथा अंगभंगसम्बन्धी कसुर १ सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

बैंकिङ कसुर उजुरी लिएर प्रहरी कार्यालय पुग्नेहरुमा निम्न वर्गियदेखि उच्च वर्गका व्यक्तीहरु रहेका छन् । यस्तो मुद्दाको उजुरी बढ्न थालेसँगै प्रहरीले बैंकिङ कसुरको मुद्दा फछ्यौटतर्फ ध्यान नदिएको भन्ने गुनासो पनि पिडितहरुको छ ।

यसरी बैंकिङ कसुरको मुद्दा बढ्नाले प्रहरीलाई दबाब बढेको हो तर त्यस्तो खालको कसुर हेर्नको लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा छुट्टै बैंकिङ कसुर शाखा नै स्थापना गरी सेवाग्राहिहरुको काम गरीरहेको प्रवक्ता रिजालको दाबी छ । 

गत आव २०७८/७९ मा भन्दा चालू आव २०७९/८० मा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरका मुद्दा ५० प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।